श्री मंगलादेवी प्राथमिक विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम
महाकवि देवकोटा क्याम्पस अन्तर्गत वि.वि.ए. छैठौँ समेस्टरमा अध्यययनरत विद्यार्थीहरुको आयोजना मिति २०८०/०९/२२ गतेका दिन बर्दघाट नगरपालिका वडा नं.२ को दुर्गम स्थानमा अवस्थित श्री मंगला देवी प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा साथै विद्यालयलाई फिल्टर तथा बाल्टी प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र प्रसाद गुप्ता, महाकवि देवकोटा क्याम्पस वि.वि.ए. प्लानर विकाश राना, वि.वि.ए. छैठौँ समेस्टरमा अध्यययनरत विद्यार्थीहरु, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, अभिभावक, गरी करिव ५५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने २४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण गरिएको थियो भने विद्यालयलाई फिल्टर तथा बाल्टी प्रदान गरिएको थियो । शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गुप्ताले महाकवि देवकोटा क्याम्पसले बर्दघाट नगरपालिकामा अवस्थित भएर पनि विकासमा धेरैको आँखा पुग्न नसकेको चुरे पहाडको काखमा रहेको हाम्रो विद्यालयमा आएर विद्यालय साथै यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण जस्तोे सराहनीय कार्य गरेकोमा देवकोटा परिवारलाई धन्यवाद दिँदै स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुमा यस्तो समाजसेवाको भावना विकास गराउनु भएकोमा क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिनुभयो ।
उक्त अवसरमा क्याम्पसको तर्फबाट आफ्ना विचारहरु राख्दै प्लानर रानाले महाकवि देवकोटा क्याम्पसले सामाजिक उत्तरदायित्व पूरा गर्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, अशक्त अपाङ्गहरुलाई राहत सामग्री वितरण, स्वस्थ्य शिविर, रक्तदान, जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने विचार व्यक्त गर्दै विद्यालयले यो अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनु भयो । कार्यक्रममा वि.वि.ए. छैठौँ सेमेस्टरमा अध्ययनरत छात्रा समिक्षा गैरेले महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदायप्रति क्याम्पसको सामाजिक उत्तरदायित्व पूरा गर्ने साथै विद्यार्थीहरुमा समाजसेवा र मानवसेवाको भावना विकास गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको भन्दै कार्यक्रम गर्नुको उद्धेश्यमाथि प्रकाश पार्दै कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।