महाकवि देवकोटा क्याम्पसमा रोजगार मेला सम्पन्न

महाकवि देवकोटा क्याम्पस सुनवलले आज रोजगार मेला सम्पन्न गरेको छ । विभिन्न ३१ वटा कम्पनी तथा उद्योगहरुका प्रतिनिधिहरुको उपस्थितिमा रोजगार मेला गरिएको हो । क्याम्पसमा अध्ययन पुरा गरेका र अध्ययनरत विद्यार्थीहरुलाई रोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ रोजगार मेला गरिएको क्याम्पसले जनाएको छ ।

महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) को प्रमुख आतिथ्यमा रोजगार मेलाको समुदघाटन गरिएको हो । सो अवसरमा मन्त्री कलवारले अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई रोजगारको अवसर सृजना गर्ने काम गरेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले देशभरका अन्य क्याम्पसहरुले पनि देवकोटाको नमूना कामको सिको गर्नु पर्नेमा जोडदिनु भयो । मन्त्री कलवारले देवकोटा क्याम्पसलाई लुम्बिनी प्रदेशमै नमूना क्याम्पस बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका साँसद एवं पूर्व मन्त्री खड्ग वस्नेतले देशमा बेरोजगारी किन भयो भनेर त्यसको कारण खोज्नु पर्नेमा जोड दिनु भयो । उहाँले “हामी बेरोजगार होइन,  अनस्कील भएको हो” हामी आफ्नो क्षमता विकास गर्न तर्फ लाग्ने र बजारले कस्तो व्यक्ति खोजेको छ भनि अध्ययन गर्ने हो भने, बेरोजगार भएर बस्नु नपर्ने बताउनु भयो ।”

कार्यक्रममा सुनवल नगरपालिकाका नगरउपप्रमुख सूर्य दुबे, सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भिमवहादुर थापा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ ।

यस्तै कार्यक्रममा रोजगारदाता कम्पनीहरुको तर्फबाट डार्सिज होटलका अपरेशन म्यानेजर गणराज मगर, लक्ष्मी स्टील प्रा.लीका प्रवन्धक दामोदर पौडेलले प्रतिस्पर्धाको युगमा क्याम्पसले विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्न रोजगार मेला लगाउनु सराहनीय काम भएको बताउनु भयो ।

रोजगार मेलामा वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, कार्यक्रम संयोजक एवं प्राध्यापक विकास आचार्य र विकास राना लगायतले कार्यक्रमको अवसरमा बोल्नु भएको प्राध्यापक हरिदत्त शर्माले जानकारी दिनु भयो । आजै क्याम्पसमा अध्ययनरत ५० जना विद्याथीहरुले विभिन्न ३१ वटा कम्पनी तथा उद्योगलाई अन्तरवार्ता दिएका छन्, अन्तरवार्ताको नतिजा भने आइसकेको छैन ।