महाकवि देवकोटा क्याम्पस सुनवलमा निशुल्क आँखा शिविर

पश्चिम नवलपरासीको सुनवल ४ रमवापुर स्थित महाकवि देवकोटा क्याम्पसमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप शाखाको आयोजना तथा विद्यार्थी परिषद् तथा युवा रेडक्रस सर्कलको सहआयोजना एवं डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

निशुल्क आँखा शिविरमा १८५ जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको शिक्षक हरिदत्त शर्माले जानकारी दिनुभयो । आँखा परिक्षण गरिएका विद्यार्थीहरुमा गम्भिर समस्या नदेखिएको र केही विद्यार्थीलाई औषधि वितरण गरिनुका साथै केही विद्यार्थीहरुलाई थप थप परिक्षणका लागि डा.विनोद निता कण्डेल आँखा अस्पतालमा बोलाईएको छ ।

अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्यालको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष एवं डा. विनोद निता कण्डेल आँखा अस्पतालका वोर्ड सदस्य कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवं क्याम्पस सञ्चालक समितिका सदस्य तथा रेडक्रस सुनवलका सभापति गोपाल शर्मा, क्याम्पस प्रमुख नारायण ढकालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामिछानेले विद्यार्थीको शैक्षिक विकास संगै स्वास्थ्य अवस्था पनि महत्त्वपूर्ण हुने भएकाले अतिरिक्त क्रियाकलाप अन्तर्गत आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी परिषद्का सभापति प्रकाश वि.क को स्वागत मन्तव्य रहेको थियो ।