छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

2026-09-07

मिति २०८३/०५/१८ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गतको विद्यार्थी परामर्श शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा आर्थिक रुपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाइ प्रति थप अभिरुची जागृत गर्नका साथै केही हदसम्म भए पनि आर्थिक सहुलियत प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, प्रतिनिधिसभा सदस्य माननीय सांसद नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष थान प्रसाद गैरे एवं निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलद्वयको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा  क्याम्पस संरक्षक उमानाथ पोखरेल, क्याम्पस सल्लाहकार समितिका संयोजक बोधराज घिमिरे, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पस संरक्षकहरु, क्याम्पस आजीवन सदस्यहरु, क्याम्पसमा स्थापना गरिएको छात्रवृत्तिकोषका संरक्षकहरु, विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने दाता महानुभावहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिकाहरु, अभिभावक साथै छात्रवृत्ति प्राप्त गर्न सफल  विद्यार्थी गरी १९७ बढीको सहभागिता रहेको थियो । विश्वविद्यालय अनुदान आयोग UGC नेपालको, क्याम्पसको आफ्नै, युगो नेपालको साथै प्रदेश सरकारको तर्फबाट प्रदान गरिएको गरी जम्मा रु.१९,२४,०५० क्याम्पस अन्तर्गतका विभिन्न सङ्कायमा अध्ययन गर्ने १६६ जना विद्यार्थीहरुले प्राप्त गरेका थिए । विभिन्न विद्यामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सभाध्यक्ष, विशेष अतिथि साथै अतिथिहरुले टीका तथा पुष्पगुच्छा प्रदान गर्नुभएको थियो भने प्रमुख अतिथि माननीय सांसद नरेन्द्र कुमार गुप्ताले छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो । पढाइ, आर्थिक अवस्था, नियमितता, अनुशासन साथै दलित जनजाति जस्ता विषयहरुलाई मूल्याङ्कनको आधार बनाएर छात्रवृत्ति प्रदान गरिएको थियो । आर्थिक रुपमा कमजोर, जेहेन्दार, अल्पसङ्ख्यक, दलित, मुस्लिम, मधेशी, सिमान्तकृत, द्वन्द्व पिडित, वेपत्ता पारिएका नागरिक, अपाङ्ग, खेलकूद आदि शीर्षकमा गरिएको छात्रवृत्ति वितरण गरिएको थियो । उक्त कार्यक्रम आर्थिक अभावको कारणले गर्दा विद्यार्थीहरु पढ्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले आयोजना गरिएको थियो । 
 शुभकामना मन्तव्य प्रस्तुत गर्दै विशेष अतिथि निवर्तमान अध्यक्ष पौडेलले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई धन्यवाद दिनु भयो । उक्त कार्यक्रमा विशेष अतिथि संस्थापक अध्यक्ष गैरेले आफूहरुले स्थापना गरेको यस क्याम्पसले यसरी प्रगति गरिरहेकोमा सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा क्याम्पस सल्लाहकार समिति संयोजक बोधराज घिमिरे, सल्लाहकार सदस्य युवराज ढकाल अभिभावक दिपा पौडेल लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । 
सोही अवसरमा बि.बि.ए. प्रथम सेमेस्टरमा नेपाल प्रथम हुन सफल छात्रा हेमा शर्मा, साही कक्षामा दोस्रो स्थान प्राप्त गर्न सफल अंकित घिमिरे साथै तेस्रो स्थान प्राप्त गर्न सपल निर्मा थापालाई प्रमुख अतिथि गुप्ताद्वारा नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमसगै क्याम्पसले आयोजना गरेको भिडियो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय साथै सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थी भाइबहिनीहरुलाई नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्न संचालन गरिएको कविता लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी भाइबहिनीहरुलाई नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा बोल्दै  प्रमुख अतिथि गुप्ताले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरुलाई धन्यवाद दिँदै आफ्नो क्षेत्रमा सञ्चालन गरिएको क्याम्पसले नेपालमै प्रथम स्थान ल्याउन सफल भएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिनुभयो । साथै उहाँले नेपाल सरकारको तर्फबाट क्याम्पसलाई सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम समापनका अवसरमा सभाध्यक्ष लामिछानेले छात्रवृत्ति रकमले विद्यार्थीहरुलाई पढाइतर्फ उत्प्रेरित गर्दछ भन्दै आर्थिक अभावको कारणले कसैले पनि पढाइ छोड्न नपरोस् भन्ने उद्धेश्यले क्याम्पसमा छात्रवृत्ति वितरण गरिएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार बस्नेत क्षेत्रीको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।